Back to Top

class 10 nepali guide | पाठ ८ | नेपाली हाम्रो श्रम र सिप | कक्षा १०

        पाठ ८        


         नेपाली हाम्रो श्रम र सिप


शब्दभण्डार 

१. दिइएका शब्दको अर्थ लेख्नुहोस्:

कला, श्रम, सितो, आलस्य, रहस्य, सम्पदा, चोखो, स्वर्ग
शब्द अर्थ
कला कुनै पनि काम राम्रोसँग गर्ने सीप, कौशल
श्रम मेहेनत, परिश्रम
सितो पाकेको चामलको दानो, भातको चुरो मरेको गेडो
आलस्य काममा मन नलाग्ने भाव, अल्छ्याईँ
रहस्य लुकेको कुरो, गोप्य, भित्री आशय
सम्पदा सम्पत्ति, वैभव, धन
चोखो जुठो नभएको, शुद्ध, पवित्र
स्वर्ग अमरावती, इन्द्रपुरी, अत्यन्त रमणीय ठाउँ, सुन्दर स्थान

२. 'नेपाली हाम्रो श्रम र सिप' कविताबाट पाँच जोडी लय मिल्दा शब्द पहिचान गरी लेख्नुहोस्।

बाँच्ने – साँच्ने, नखाए – नलाए, खाना – नाना, भुलाउँथें – झुलाउँथें, पाएको - गाएको

३. दिइएको अनुच्छेदबाट समान संरचनायुक्त शब्द पहिचान गरी अर्थ पहिल्याउनुहोस् :

हाम्रो विद्यालयका १० कक्षाका सारा विद्यार्थी बस चढेर बारा घुम्न हिँड्यौँ। वर्षायाम थियो। वेगसँग मेघ गर्ज्यो। रातो माटो र चिप्लो बाटो थियो। बाटामा बस गुडुडु गुड्दै थियो। पानी दरर दर्कँदै थियो। बरर असिना बर्सँदै थियो। हाम्रो बस टक्क अडियो। बसबाट सट्ट झरियो। हामीले कुन ठाउँ हो भन्ने भेउ नपाए पनि एउटा होटलको छेउमा बस रोकिएको रहेछ। हामी गएपछि होटल खचाखच भयो। केहीलाई होटलका बुढामान्छेले मुढा दिए। हामी मुढामा बस्यौँ।

→ समान संरचनायुक्त शब्द र तिनका अर्थ
सारा – सबै, सम्पूर्ण
बारा – जिल्लाको नाम, मास वा मुगीबाट बनाइएको रोटी
वेग – गति, प्रवेग, चाल
मेघ – बादल, आकाशमा जम्मा भएको जलवाष्प
माटो – मृत्तिका, मट्टी, जमिन
बाटो – पथ, मार्ग, सडक
बरर – आँशुका थोपा झर्दाको किसिम
दरर – लगातार पानी पर्दाको किसिम

४. दिइएका शब्दलाई बाक्यमा प्रयोग गर्नुहोस्:

स्वदेश, पसिना, सिप, पुर्खा, भाषा, सितो, विज्ञान
→ स्वदेश – खोखो विश्वकपको उपविजेता बन्दै नेपाली महिला र पुरूष टोली स्वदेश फर्किए।

पसिना – खाडीको गर्मीमा भन्दा आफ्नै देशमा पसिना बगाउनु उत्तम हुन्छ।

सिप – विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सिप पनि सिकाउन आवश्यक छ।

पुर्खा – बाँदर नै आधुनिक मानिसको पुर्खा हो भनेर चार्ल्स डार्विनले सिद्ध गरेका थिए।

भाषा – नेपाली भाषा एक आर्य भाषा हो जुन दक्षिण एसियाको हिमालय क्षेत्रमा बोलिन्छ।

सितो – अन्न जति अमूल्य अरू केही पनि नभएकाले भातको सितो पनि फाल्नु हुँदैन।

विज्ञान – विज्ञान र प्रविधि कुनै पनि देशको सामाजिक रूपान्तरण र आर्थिक विकासका लागि प्रमुख कडी मानिन्छ।

५. तपाईंको समाजमा प्रचलित चाडपर्वसँग सम्बन्धित छओटा शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस्।

· दशैँ – रोजगारी र पढाईको शिलशिलामा विदेश र शहर गएकाहरु दशैँ मनाउन घर फर्किएपछि गाउँमा दशैँको रौनक बढ्छ।

· तिहार – नेपालमा मनाइने दोस्रो ठूलो चाड तिहारका कतिपय सांस्कृतिक र धार्मिक चलनमा परिवर्तन देखा पर्न थालेको संस्कृतिविद्हरू बताउँछन्।

· होली – होली पर्वमा मानिसहरू रंग र अबिर खेल्दै एक-अर्कालाई शुभकामना दिन्छन्।

· छठ – छठ पर्वमा भक्तजनहरूले सूर्य भगवानको उपासना गर्दछन्।

· बुद्ध जयन्ती – बुद्ध जयन्तिमा गौतम बुद्धको उपदेश स्मरण गर्दै शान्ति सन्देश फैलाइन्छ।

· उधौली पर्व – उधौली पर्वमा किरात समुदायले साकेला नृत्य गर्दै प्रकृतिको पूजा गर्छन्।

बोध र अभिव्यक्ति

१. दिइएका शब्दको उच्चारण गरी कविता पढ्‌दाको उच्चारण र तिनको स्वतन्त्र उच्चारणमा हुने भिन्नता पहिचान गर्नुहोस् :

नेपाल, पहाड, श्रम, सुन, देश
कविता पढ्दाको उच्चारण स्वतन्त्र उच्चारण
नेपाल नेपाल्
पहाड पहाड्
श्रम श्रम्
सुन सुन्
देश देश्

२. 'नेपाली हाम्रो श्रम र सिप' कवितालाई गति, यति, लय मिलाई बाचन गर्नुहोस्।

→ शिक्षकलाई देखाउनुहोस्।

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस्।

(क) नेपाली हाम्रो श्रम र सिप' कविताको अन्तिम श्लोक बाचन गर्नुहोस् र उक्त

श्लोकका हरेक प‌ङ्क्तिमा कति कतिओटा शब्द छन्, भन्नुहोस्।

→ नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी – ७ शब्द

आलश्य निद्रा हीनता सारा भगाऊँ कसरी – ६ शब्द

आशिष देऊ एकै र फेरि पसिना बगाऊँ – ७ शब्द

नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ – ७ शब्द

(ख) उक्त श्लोकका हरफहरूको अन्त्यमा समान ध्वनि भएका दुई जोडी शब्द

भन्नुहोस्।

→ जगाऊँ – भगाऊँ, बगाऊँ - लगाऊँ

(ग) आशिष दिने प्रसङ्ग कविताको कुन श्लोकको कन पङ्क्तिमा आएको छ?

→ कविताको अन्तिम श्लोकको तेस्रो पङ्क्तिमा आशिष दिने प्रसङ्ग आएको छ।

(घ) नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ भन्ने पङ्क्ति कवितामा कति

पटक पुनरावृत्ति भएको छ?

→ ‘नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ’ भन्ने पङ्क्ति कवितामा ३ पटक पुनरावृत्त भएको छ।

४. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

पहाड भन्छ पसिना पाए म स्वर्ग भुलाउँथें
तराई भन्छ सिंचाइ पाए म सुन झुलाउँथे
के छ र गाह्रो होस्टेमा हैंसे सबैले मिलाए
सबैले चोखो श्रम र सिप स्वदेशमै लगाए।

(क) पहाडले पसिना खोज्नुको आशय खुलाउनुहोस् ।
→ पहाडले पसिना खोज्नुको आशय ‘पहाडमा परिश्रम गर्ने, मेहेनत गर्ने व्यक्तिको आवश्यकता छ’ भन्ने हो।

(ख) तराईलाई सिचाइ किन चाहिएको हो?
→ सिँचाइ भएमा धेरैभन्दा धेरै अन्न फलाउन सकिने भएकोले तराइलाई सिचाइ चाहिएको हो।

(ग) होस्टेमा हैंसे गदां देशलाई कस्तो फाइदा पुग्छ?
→ होस्टेमा हैंसे गर्दा देशभरी नै उत्पादन र उत्पादकत्व बढाएर देशलाई आत्मनिर्भर बनाउन सकिन्छ।

(घ) 'श्रम र सिपलाई स्वदेशमै लगाउनुपर्छ' भन्ने भनाइलाई पुष्टि गर्नु‌होस ।
→ जन्मभूमी स्वर्गभन्दा पनि उच्च र महान् हुने हुँदा नेपालीले श्रम, सिप र पसिना आफ्नै मुलुकमा बगाई समृद्ध राष्ट्र बनाउनुपर्छ। पहाडमा पसिना बगाए पहाडलाई स्वर्ग जत्तिकै सुन्दर बनाउन सकिने र तराईमा सिँचाइ भए प्रशस्त अन्न फलाउन सकिने भएकाले श्रम र सिपलाई स्वदेशमै लगाउनुपर्छ।

५. दिइएका प्रश्नको उत्तर लेख्नुहोस्।

(क) नेपाली धरती विश्वमै महान् छ भन्ने भनाइलाई कविताका आधारमा वर्णन गर्नुहोस् ।

→ नेपाली धर्ती विश्वमै अनुपम छ। नेपालको पहाडी भूभाग स्वर्गलाई बिर्साउने किसिमको छ। तराई क्षेत्रमा सुनका बाला झैँ लहलह धानका बाला झुलाउने उर्वर भूमी छ। हाम्रो देशले सृष्टीकै बेला वेद जस्तो विज्ञान पाएको थियो। देवता, ऋषि र मनुष्यको साझा भूमी नेपालमा यी सबै मिलि वेदान्त गाएका थिए। मुन्धुम, धम्मपद जस्ता महान् सम्पदा यसै देशका चिनारी हुन्। यो देश हिन्दु, बौद्ध, किराँत धर्मको आधारभूमी पनि हो। नेपालको जस्तो धार्मिक विविधता र एकता संसारका अन्य मुलुकमा विरलै पाइन्छ। अतः ऋषिमुनिहरूको तपस्या स्थल, ज्ञानको उदय र विकास भएको पवित्र भूमी, वेद, वेदान्त, मुन्धुम जस्ता महान् ग्रन्थकारहरूको जन्मभूमी भएका कारण नेपाली धरती विश्वमै महान् छ।

(ख) कवितामा धार्मिक विविधतालाई कविले कसरी चिनाएका छन्?

→ नेपाल धार्मिक विविधतायुक्त मुलुक हो। विश्वकै सर्वोत्कृष्ट सनातन वैदिक धर्म, शान्तिको श्रोत र कर्मयोगी बौद्ध धर्म तथा प्रकृति पुजक किराँत धर्मका अनुयायी रहेको ठाउँ नेपाल नै हो। यहाँ हिन्दु, बौद्ध र किराँत धर्मका अनुयायीहरू एकआपसमा मिलेर र अन्तरसम्बन्धित भएर बसोबास गरेका छन्। यिनीहरूबीच कुनै किसिमको वैमनस्यता छैन अपितु विविधताभित्र एकता र हार्दिकता छ, समन्वय, सद्भाव र सहिष्णुता छ। एकआपसमा सहयोग र मेलमिलाप छ। यसै तथ्यलाई कविले सुत्रात्मक रूपमा कवितामा चिनाएका छन्।

(ग) कविताको दोस्रो श्लोकको विषयवस्तु वर्णन गर्नुहोस्।

→ एक जना नेपाली भोको हुनु भनेको सिङ्गो नेपाल भोको हुनु हो। एउटा नेपाली नाङ्गो हुनु भनेको सम्पूर्ण नेपाल नाङ्गो रहनु हो। तसर्थ नेपालीले पेटभर खान र आङ्भरि लुगा लगाउन पाउनुपर्छ। सम्पूर्ण नेपालीलाई मनग्ये खाना र लुगाकपडा पुर्याउनका लागि हामीले आफ्नो श्रम र सीपलाई आफ्नै माटोमा खन्याउनुपर्छ। यसरी आफ्नो राष्ट्रलाई समृद्ध पार्न कविले नेपालीलाई आह्वान गरेका छन्।

(घ) नेपाली हाम्रो श्रम र सिप' कविताको मूल भाव के हो?

→ ‘नेपाली हाम्रो श्रम र सिप’ नामक कविता कवि मुकुन्दशरण उपाध्यायद्वारा रचित देशभक्ति र राष्ट्रप्रेमले ओतप्रोत रचना हो। एकातिर वर्तमानमा नेपाली भाषा, साहित्य, कला, धर्म, संस्कृति र सभ्यतामाथि चारै दिशाबाट आक्रमण भइरहेको अवस्था छ भने अर्कोतिर नेपाली युवा जमात अध्ययन र आर्थिक उपार्जन गर्नका निमित्त विदेशिने क्रम पनि बाक्लिँदै गइरहेको छ। यस्तो विसम र असहज परिस्थितिमा नेपाली आफैँ सचेत भएर आफ्नो भाषा, धर्म, सभ्यता, संस्कृति र मौलिकताको संरक्षण र सम्वर्धनमा जुट्नुपर्छ। हाम्रो आफ्नै देशमा रोजगारीका अवसरहरू प्रशस्त छन्। सुनको कचौरा हातमा लिएर भीख माग्नुपर्ने अवस्था नेपालीको होइन। नेपाल ज्ञानविज्ञान र स्रोतसम्पदाले भरिपूर्ण र परिपूर्ण छ। सबै नेपालीका आधारभूत आवश्यकता परिपूर्ति गर्न सबै एकजुट बन्नुपर्छ। होस्टेमा हैँसे मिलाएर सबै नेपालीले चोखो श्रम र सिप स्वदेशमै लगायौँ भने देशलाई आत्मनिर्भर बनाउन सकिन्छ। वेद जस्तो विज्ञान पाएको र धार्मिक विविधता भएको नेपाल विश्वकै महान् राष्ट्र भएकाले आलस्य, निद्रा र हीनतालाई त्यागेर हाम्रो पौराणिक र ऐतिहाँसिक आभालाई जोगाउनु जरूरी छ। त्यसैले स्वदेशमै आफ्नो श्रम र सिपले सिञ्चित गरेर विकसित बनाउन, विश्वसामु नेपाल र नेपालीको गौरव बढाउनुपर्छ भन्ने आशय कवितामा रहेको छ।

६. 'नेपाली हाम्रो श्रम र सिप कविताको पहिलो श्लोक शिक्षकबाट सुनेर लेख्नुहोस्।

नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ
नेपाली भाषा संस्कृति कला साहित्य साँच्ने छ
यसैले आउ नेपाललाई बलियो बनाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेश मै लगाऊँ।

७. दिइएका कविताका पङ्क्तिलाई व्याकरणिक क्रम मिलाएर लेख्नुहोस्।

(क) पूर्वले दियो विश्वकै लागि रहस्य विशाल

→ पूर्वले विश्वकै लागि विशाल रहस्य दियो।

(ख) विश्वमै छैन धरती महान् यो देश समान

→ यो देश समान महान् धरती विश्वमै छैन।

(ग) नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी

→ नेपाल आमा यो दिव्य आभा कसरी जगाऊँ?

(घ) आलस्य निदा हीनता सारा भगाऊँ कसरी
→ सारा आलस्य निद्रा हीनता कसरी भगाऊँ?

८. भाव विस्तार गर्नुहोस्:

(क) नेपाल बाँचे नेपाली हाम्रो गौरव बाँच्ने छ
नेपाली भाषा संस्कृति कला साहित्य साँच्ने छ।

→ प्रस्तुत कवितांश ‘नेपाली हाम्रो श्रम र सिप’ शीर्षकको कविताबाट उद्धृत गरिएको हो। यस कविताका रचनाकार कवि मुकुन्दशरण उपाध्याय हुन्। उनले यस कवितांसमा नेपालको अस्तित्व रहेमा मात्र नेपालीको पनि अस्तित्व रहने राष्ट्रवादी चेत प्रस्तुत गरेका छन्।

देश भनेको भूगोल हो। त्यहाँका नागरिक, भाषा, संस्कृति पनि हो। भाषा, धर्म, कला र साहित्यभित्र देशको गौरव लुकेको हुन्छ, प्रतिष्ठा प्रच्छन्न रहेको हुन्छ। वर्तमान समयमा नेपाली भाषा, धर्म, संस्कृति, कला र साहित्य माथी सबै दिशाबाट आक्रमण भइरहेको छ। यसैले गर्दा एकातिर नेपालको भौगोलिक सिमाना जोगाउनु आवश्यक देखिन्छ भने अर्कातिर भाषा, धर्म, कला, संस्कृतिको जगेर्ना गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ। यसलाई जोगाउने काम नेपाली जनताको नै हो। भाषाभित्र संस्कृति हुन्छ र भाषाले संस्कृति एवं सभ्यतालाई फैलाउने काम गर्दछ। तसर्थ, भाषा, धर्म, कला, संस्कृति र साहित्य देशका गौरव र प्रतिष्ठाका विषय हुन्। त्यसैले यस्ता अमूल्य निधिको संरक्षण र संवर्धन गर्नु आवश्यक छ। हाम्रा पुर्खाले वीरता प्रदर्शन गरेर नेपाललाई स्वतन्त्र मुलुकको रूपमा विश्वमै परिचित गराएकोले आज पनि नेपाललाई वीरहरूको मुलुक भनेर चिनिन्छ। यो गौरवगाथा र पहिचान बाँच्नुको मुख्य कारण नेपाल देशको अस्तित्व रहेकाले नै हो।

यसरी कविले प्रत्येक नेपालीमाझ राष्ट्रियभावना जगाएका छन्। नेपाल बाँचे मात्र नेपालीले स्वाभिमानपूर्वक बाँच्न पाउने र नेपाली भाषा, कला, साहित्यको संरक्षण हुने हुँदा यसतर्फ लाग्न प्रत्येक नेपालीलाई आह्वान गरेका छन्।

(ख) आशिष देऊ एकै र फेरि पसिना बगाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ।

→ प्रस्तुत कवितांश ‘नेपाली हाम्रो श्रम र सिप’ शीर्षकको कविताबाट उद्धृत गरिएको हो। यस कविताका रचनाकार कवि मुकुन्दशरण उपाध्याय हुन्। यस कवितांसमा मानिसले मनभरि आँट, शरीरभरि फुर्ती, हातभरि सिप एकतृत गरेर सबै भाईभाईमा एकताका साथ आफ्नो राष्ट्रलाई समृद्ध बनाउने आशिष कविले नेपाल आमासँग मागेका छन्। त्यस्तै नेपाली श्रम र सिप स्वदेशमै लगाउनका लागि नेपाली युवासमक्ष बारम्बार आह्वान पनि गरेका छन्।

परिश्रमी पुर्खाका सन्तति हामी नेपालीको आजकल परिश्रम नगरी विलासितामा रम्ने बानी बस्दै गएको छ। श्रमलाई सम्मान गर्ने हाम्रो प्रचलन पनि विस्तारै खिइँदै गएको छ। कृषिप्रधान मुलुकमा कृषक र कृषि पेशालाई हेयका दृष्टिले हेर्न थालिएको छ। हामीलाई विदेश गएर जस्तोसुकै काम गर्न पनि नहिच्किचाउने तर स्वदेशमा भने काम गर्न आलस्य महसुस गर्ने बानी परेको छ। हीनता, आलस्य, निद्रा मान्छेको उन्नति, प्रगति र समृद्धीका बाधक हुन्। त्यसलाई हटाएर कसरी जाँगरिलो बनाउन सकिन्छ भन्ने आशय कविको छ। नेपाललाई पसिना चाहिएको छ। यस मुलुकमा रहेर पसिना बगाउँदै श्रम र सिपले देशलाई समृद्ध र सुन्दर बनाउने आशिष देऊ भनी कवि नेपाल आमासँग प्रार्थना गर्दछन्।

यसप्रकार नेपाली लोकलय झ्याउरे छन्दमा संरचित माथीको कवितांशले देशलाई पसिनाको आवश्यकता भएकोले सबै नेपालीले स्वदेशमै श्रम र सिप लगाउनुपर्ने भाव व्यक्त भएको छ।

९. श्रम र सिपलाई स्वदेशमै कसरी उपयोग गर्न सकिन्छ, कविताका आधारमा समीक्षा गर्नुहोस्।

→ मुकुन्दशरण उपाध्याय (वि.सं. १९९७) द्वारा रचित 'नेपाली हाम्रो श्रम र सिप' शीर्षकको कविता देशप्रेमको भाव अभिव्यक्त भएको कविता हो। यस कवितामा कवि उपाध्यायले युवालाई स्वदेशमै श्रम गर्न आह्वान गर्दै श्रम र सिपलाई स्वदेशमै उपयोग गर्न सकिने कुरा अभिव्यक्त गरेका छन्।

नेपालको अस्तित्व रह्यो भने मात्र नेपालीको गौरव बाँच्दछ। नेपाललाई बलियो बनाउन नेपाली भाषा, संस्कृति, कला र साहित्यको संरक्षण गर्दै स्वदेशमा नै हाम्रो श्रम र सिप लगाउनुपर्छ। तर आजकल नेपाली युवाहरू विदेशतर्फ आकर्षित छन्। नेपालीको श्रम र सिप विदेशी माटोमा पोखिन थालेको छ। यसले पक्कै पनि देशको हित गर्दैन। नेपालको भूमि उर्वर छ। केही पनि नफल्ने वा उब्जाउ नै नहुने मरुभूमि त कतै छैन। पहाडका खेतका गरा र बारीका पाटामा अन्न र फलफूल प्रशस्त उत्पादन हुन्छ। तराईका फाँटमा सुन जस्तै पहेंलपुर धानका बाला झुलाउने मनोहर सामर्थ्य छ। केवल सिँचाइका लागि नहर वा पानीको व्यवस्था मिलाउन आवश्यक छ। यो असम्भव र गर्न नसकिने काम होइन। त्यस्तै नेपालको प्राकृतिक सुन्दरताको चर्चा गर्दै कविले सर्वोच्च शिखर सगरमाथालाई विश्वकै शिरोमुकुट भनी वर्णन गरेका छन्। पूर्वीय दर्शनको रहस्य बोकेको र ऋषिमुनिहरूले झिसमिसेमा ब्यूँझेर रहस्य सुनेको यो देश पवित्र मात्र होइन हाम्रा पुर्खाको गौरवले अनेकतामा एकता कायम गरी विश्वमा चिनाएको मुलुक पनि हो। तसर्थ धार्मिक, प्राकृतिक र सांस्कृतिक विविधतामा एकताका माध्यमबाट नेपाललाई समृद्ध बनाउन सकिन्छ। एकातिर नेपालीसँग काम गर्ने जोस र जाँगर छ, श्रम र सिप छ भने अर्कोतिर उत्पादनशील जमिन उपलब्ध छ। तिनलाई उपयोग गरेर सम्पूर्ण नेपालीलाई मनग्ये खान र लाउन पुग्ने गरी उत्पादन गर्न सकिन्छ। युवाहरूको बिदेसिने क्रमले हाम्रा आफ्ना खेतबारी बाँझिन थालेका छन्। ती युवाहरूलाई स्वदेशमै बस्ने वातावरण मिलाई बाँझिएका खेतबारीलाई हराभरा बनाउनुपर्छ। त्यस्तै सबैले होस्टेमा हैंसे मिलाएर चोखो श्रम र सिप स्वदेशमा लगाउने हो भने पहाडले स्वर्ग भुलाउने र तराईमा सुनौला धानका बाला लहलहाउने बनाउन सकिन्छ। हिमाल, पहाड र तराईमा रहेका सबै नेपालीका आधारभूत आवश्यकता परिपूर्ति गर्न सबै एकजुट बन्नु आजको आवश्यकता हो।

त्यसैले नेपालीहरूले आफूसँग भएको श्रम र सिप प्रयोग गरेर नेपालीलाई पेटभरि खान र लाउन पुग्ने गरी उत्पादन गरौं भन्ने कविको आग्रह छ। त्यसै गरी आफ्नो भाषा, धर्म कला, संस्कृति र साहित्यको विकास गरेर देशको गौरव बढाउन सकिन्छ। यसरी कविले थोरै शब्दमा धेरै महत्त्वपूर्ण कुरा अभिव्यक्त गरेका छन्। कवितामा प्रयुक्त भाषाशैली सरल, सरस एवं मिठासपूर्ण छ।

१०. दिइएको अनुच्छेद र गजलको नमुना पढ्नुहोस् अनि गजलको संरचनाबारे कक्षामा छलफल गर्नुहोस् :

कविताका विभिन्न रूपमध्ये लघु रूप गजल हो। गजलको शाब्दिक अर्थ 'नारीसँगको प्रेमपूर्ण बातचित' भन्ने हुन्छ। यसले अहिले आफ्‌नो शाब्दिक अर्थलाई व्यापक गरी जनस्वै विषयवस्तुलाई सशक्त रूपमा प्रस्तुत गर्ने गर्छ। काव्यको श्रव्य विधाअन्तर्गत पर्ने गजलमा सङ्गीतको पनि उपयोग गरिन्छ। गजल लेखनको संरचना छुट्टै प्रकृतिको छ। यसमा अक्षर र पाउमा निश्चितता छैन तथापि यसको लेखनका क्रममा केही पक्षमा ध्यान पुऱ्याउनुपर्छ। एउटै लय वा छन्दबाट निर्मित दुई पंक्तिको योगबाट सेर निर्माण हुन्छ। सेर निर्माण गर्ने पङ्क्तिलाई मिसरा भनिन्छ। गजलको हरेक सेरमा दुई दुईओटा मिसरा हुन्छन्। गजलको पहिलो सेरलाई मतला भनिन्छ। यसमा विषयवस्तुको प्रारम्भिक उठान गरिएको हुन्छ। मतलाको पाउमा अन्त्यानुप्रास मिलेको हुनुपर्छ। दुवैमा समान प्रकृतिको अन्त्यानुप्रास भएको वर्ण, पद वा पदावलीलाई रदिफ भनिन्छ। रदिफ पहिलो सेरको दुवै पङ्क्ति र अन्य सेरका दोस्रो पङ्क्तिका अन्त्यमा दोहोरिने शब्द वा पदावली हो। रदिफ या अन्त्यानुप्रासभन्दा अगाडिका शब्दमा हुने अनुप्रासलाई काफिया भनिन्छ। यसलाई पूर्वअन्त्यानुप्रास पनि भनिन्छ। यो मतलाको दुवै पङ्क्तिमा र हरेक सेरको दोस्रो पङ्क्तिमा रदिफभन्दा अगाडि आउँछ। यसर्थ रदिफभन्दा अगाडि आउने एक वा एकभन्दा बढी शब्दयुक्त अनुप्रासलाई काफिया भनिन्छ। यसलाई गजलको अनिवार्य अङ्ग मानिन्छ। रचनाकारको उपनाम दिइएको अन्तिम सेरलाई मकता भनिन्छ। त्यसरी राखिएको उपनामलाई तखल्लुस भनिन्छ। यसलाई अनिवार्य मानिँदैन।

किन चाहियो?

दुई आँखीभौँ त तयार छन्, तरबार पो किन चाहियो
तिमी आफू मालिक भै गयौ, सरकार पो किन चाहियो

पहरा कडा छ कटाक्षको, हरदम तयारि मुहारमा
घर भन्नु भारि महल् न हो, दरबार पो किन चाहियो

कति चम्किलो छ हँसाइको, हिसिमा किरन् पनि दाँतको
मणिमोति नीर जुहार् न हो, अरू हार पो किन चाहियो।
- मोतीराम भट्ट

→ गजल संरचना सम्बन्धमा छलफल यसरी गर्नुहोस्:

गजलका तत्त्वहरू :
१. सेर: गजलका दुई पङ्क्तिलाई सेर भनिन्छ। सेरको पहिलो पङ्क्तिलाई ए उला र दास्रो पङ्क्तिलाई ए सानी भनिन्छ । ५ ओटा सेर भएको गजललाई आदर्श गजल भनिन्छ।
जस्तै: सुन झैँ हजारचोटि खारे पो जिन्दगी हो, (ए उला)
        कुन बेहोसीले भन्छ हारे पो जिन्दगी हो? (ए सानी)

२. काफिया: स्वरात्मक रूपमा रदिफभन्दा ठीक अगाडि बारम्बार दोहोरिएर आउने शब्द नै काफिया हो । काफिया नै गजलको मुटु हो। गजल विधा भनेर छुट्याउने मुख्य तत्त्व नै काफिया हो।

गमलामा फूल साऱ्यौ खासै कमाल के भो
बाँझो भूमिमा बिरुवा सारे पो जिन्दगी हो

हो काल चञ्चले छ आफ्नै लहडमा चल्छ
त्यसलाई च्याप्प छोपी नारे पो जिन्दगी हो

३. रदिफ: काफियापछि निरन्तर दोहारिएर आउने पद वा पदावलीलाई रदिफ भनिन्छ। रदिफ पहिलो सेरको दुवै पङ्क्ति र अन्य सेरको दोस्रो पङ्क्तिमा आउने गर्छ। यो एक किसिमको अन्त्यानुप्रास पनि हो। जस्तैः माथीको मोतीराम भट्टको गजलमा पो किन चाहियो

४. मतला: गजलको प्रारम्भको सेरलाई मतला भनिन्छ। मतलाको दुवै मिसरामा काफिया हुनु अति आवश्यक छ। अन्यथा यो मतला नभएर सेर मात्र हुन्छ। माथीको गजलमाः
दुइ आँखिभौं त तयार छन्, तरवार पो किन चाहियो
तिमी आफू मालिक भै गयौ, सरकार पो किन चाहियो।

५. मकता : गजलको अन्तिम सेरलाई मकता भनिन्छ। अन्तिम सेरमा लेखकको उपनाम पनि दिने चलन छ। त्यसरी राखिएको उपनामलाई तखल्लुस भनिन्छ तर यो अनिवार्य भने छैन।

११. कविताका सुरूका चार प‌ङ्क्तिबाट कनै दुईजोडी बोध प्रश्न निर्माण गरी तिनको उत्तर लेख्नुहोस्।

→ पहिलो चार पङ्क्तिबाट बोध प्रश्न र उत्तरहरू निम्नानुसार छन्ः
(क) हामी नेपालीको गौरव कसरी बचाउन सकिन्छ?
उत्तरः नेपालको अस्तित्व जोगाएर हामी नेपालीको गौरव बचाउन सकिन्छ।

(ख) नेपाललाई कसरी बलियो बनाउन सकिन्छ?
उत्तरः हाम्रो श्रम र सिपलाई स्वदेशमै लगाएर नेपाललाई बलियो बनाउन सकिन्छ।

१२. दिइए‌को अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नु‌होस्।

मानव समाजमा विपत्ति तथा जोखिमका पर्याप्त सम्भावना छन्। व्यक्तिगत जीवन, रोजगारी, व्यावसायिक कारोवार आदि सबैमा जोखिम व्याप्त रहेको छ। बिमालाई जोखिम हस्तान्तरण गर्ने उपायका रूपमा लिइन्छ। अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति गर्ने माध्यम नै बिमा हो। बिमितले एक निश्चित रकम बिमकलाई दिने बिमा एक प्रकारको सम्झौता हो। यसरी बिमकलाई आकस्मिक सङ्कट उत्पन्न भएमा एक निश्चित रकम दिने वा क्षतिपूर्ति दिने भनी गरिने प्रतिज्ञा नै बिमा हो। बिमा व्यवसायले जीवनमा आइपर्ने खतरा वा विपत्ति रोक्न सकिन्न तर यस्ता विपत्तिबाट हुने आर्थिक क्षतिबाट एक हदसम्म राहत दिन्छ। वित्तीय रूपमा हुने हानि नोक्सानीको क्षतिपूर्ति प्रदान गरेर बिमाले जोखिमबाट बच्न सहयोग गर्छ। यो दुई पक्षका बीचमा हुने करार पनि हो। बिमालाई निजी र सरकारी दुई प्रकारमा वर्गीकरण गरिएको छ। निजी बिमालाई पनि जीवन बिमा र सम्पत्ति तथा दायित्व बिमा गरी विभाजन गर्न सकिन्छ। मानिसको जीवनसँग सम्बन्धित जोखिम विरुद्ध गरिने बिमालाई जीवन बिमा भनिन्छ। हिजोआज प्रत्येक व्यक्तिले अनिश्चित जोखिमको सुरक्षाका लागि बिमा गर्छन्। सम्पत्ति तथा दायित्व बिमामा अग्नि बिमा, सामुद्रीक बिमा, आकस्मिक बिमा पर्छन। त्यस्तै गरी सरकारी बिमालाई पनि सामाजिक बिमा र अन्य सरकारी बिमामा विभाजन गर्न सकिन्छ। सामाजिक बिमाअन्तर्गत वृद्धावस्था, आश्रित तथा अशक्तता बिमा, स्वास्थ्य बिमा, बेराजगारी बिमा, कामदार वा मुआब्जा बिमा, अनिवार्य अस्थायी अशक्तता बिमा आदि पर्छन्। अन्य सरकारी बिमाअन्तर्गत उपदान समाप्ति बिमा, सङ्‌घीय बाढी पहिरो बिमा, सङ्‌घीय बाली बिमालगायतका थुप्रै कार्यक्रम पर्छन्। बिमाले हानि या नोक्सानीको क्षतिपूर्ति, कम चिन्ता र त्रास, लगानीयोग्य कोषको स्रोत, क्षति नियन्त्रण तथा रोकथाम, साखको वृद्धि आदिमा फाइदा पुऱ्याउँछ। हिजोआज सरकारले स्वास्थ्य बिमालाई पनि उच्च प्राथमिकतामा राखेको छ। गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उद्देश्यले स्वास्थ्य बिमालाई उपयोगमा ल्याइएको हो।

(क) प्रश्नहरू
(अ) बिमा भनेको के हो?
→ अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति गर्नका लागि गरिएको करार सम्झौता वा माध्यम नै विमा हो।

(आ) बिमालाई एक प्रकारको सम्झौता मानिनुको कारण लेख्नुहोस्।
→ बिमकलाई आकस्मिक सङ्कट आइपरेमा एक निश्चित रकम वा क्षतिपूर्ति दिन भनी बिमक र बिमितका बिचमा गरिने करार भएकाले यसलाई एक प्रकारको सम्झौता मानिन्छ।

(इ) सामाजिक बिमा अन्तर्गत के के पर्छन्?
→ सामाजिक बिमा अन्तर्गत बृद्धावस्था, आश्रित तथा अशक्त बिमा, बेरोजगारी बिमा, कामदार वा मुआब्जा बिमा, अनिवार्य अशक्तता बिमा आदि पर्दछन्।

(ई) बिमाबाट के के फाइदा हुन्छ?
→ बिमाबाट हानि वा नोक्सानीको क्षतिपूर्ति, कम चिन्ता र त्रास, लगानी कोषको स्रोत, क्षति नियन्त्रण तथा रोकथाम, साखको वृद्धि आदिमा फाइदा हुन्छ।

(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस्।
(अ) अनुच्छेदबाट एक एकओटा उद्देश्य र विधेय विस्तारक वाक्य पहिचान गर्नुहोस्।
→ उद्देश्य विस्तार वाक्य – हिजोआज प्रत्येक व्यक्तिले अनिश्चित जोखिमको सुरक्षाका लागि बिमा गर्छन्।
→ विधेय विस्तार वाक्य – बिमा एक प्रकारको सम्झौता हो।

(आ) अनुच्छेदबाट एउटा जटिल वाक्य पहिचान गरी त्यसलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस् ।
→ जटिल वाक्यः बिमा व्यवसायले जीवनमा आइपर्ने खतरा वा विपत्ति रोक्न सक्दैन तर यस्ता विपत्तिबाट हुने आर्थिक क्षतिबाट एक हदसम्म राहत दिन्छ।
→ सरल वाक्यमा परिवर्तन गर्दाः बिमा व्यवसायले जीवनमा आइपर्ने खतरा वा विपत्ती रोक्न सक्दैन। यस्ता विपत्तीबाट हुने आर्थिक क्षतिबाट एक हदसम्म राहत दिन्छ।

(इ) अनुच्छेदबाट ‘ष’, ‘श’ र ‘स’ प्रयोग भएका एक एकबोटा शब्द टिपी तिनको अर्थ लेख्नुहोस्।
श – अशक्त (कमजोर वा दुर्बल)
→ ष – कोष (अन्नहरू सुरक्षित राखिने भण्डार; ढुकुटी)
→ स – समाज (एकै स्थानमा बसोवास गर्ने मानिसहरूको समूह)

१३. दिइए‌को सन्दर्भ पढ्नुहोस् र तोकिएको कार्य गर्नुहोस्।

अरूबाट सम्मान पाउन मान्छे दयालु हुनुपर्दो रहेछ। यसका लागि दुःखमा परेका मानिस र छरछिमेकका मानिस तथा कार्यालयमा आफ्ना सहकर्मीलाई आफूले सकेको वा जानेको सहयोग गर्नुपर्दो रहेछ। अरूलाई सहयोग गर्ने बानीबाट उनीहरूको सम्मान पाउन सकिँदो रहेछ। आफ्नो सम्मान पाउन अरूलाई सम्मान दिनुपर्दो रहेछ। आफूभन्दा सानालाई माया र ठूलालाई आदर गर्नु हाम्रो संस्कारको एक हिस्सा पनि हो। अरूबाट सम्मान पाउन अरूको कुरा राम्रोसँग सुन्नु पनि पर्दो रहेछ। जब तपाईँ मानिसको कुरो ध्यान दिएर सुन्नुहुन्छ त्यतिखेर मात्रै उनीहरूको नजरमा तपाईँप्रतिको सम्मान बढ्छ। सम्मान पाउन सामाजिक पनि बन्नुपर्दो रहेछ। यसका लागि आफ्नो जनसम्पर्कलाई राम्रो बनाउनुपर्दो रहेछ। नरिसाउने, खुसी रहने, अरूसँग हाँसेर कुरा गर्ने व्यक्ति पनि सम्मान पाउन लायक हुँदोरहेछन्।

तपाईँका कक्षामा एकजना लोकप्रिय समाजसेवी आउनुभयो। कक्षाका विद्यार्थी पालैपालो बोलेर ती व्यक्तिका विशेषता बताउँदै तिनको सम्मान कसरी गर्नुहुन्छ, अभिनय गर्नुहोस्।

सुनाई र बोलाई

१. सुनाइ पाठ ८ सुन्नुहोस् र दिइएका प्रश्नको उत्तर भन्नुहोस्।

(क) सजीव तत्व भन्नाले के बुझिन्छ?
→ सजीव तत्व भन्नाले सुक्ष्म जिवाणुदेखि ठूलाठूला जनावरका साथै बोटविरूवा जस्ता पृथ्वीको सम्पूर्ण प्राणी तथा वनस्पतिलाई बुझिन्छ।

(ख) पृथ्वीको वातावरणलाई कति किसिममा विभाजन गरिएको छ?
→ पृथ्वीको वातावरणलाई वातावरणीय तत्वको समानुपातिक संरचनाका आधारमा जल, स्थल र वायु गरी प्रमुख तीन भागमा वर्गीकरण गरिएको छ।

(ग) महासागरको पानी नुनिलो हुनाको कारण के हो?
→ महासागरमा नुनको मात्रा अधिक हुने हुनाले त्यहाँको पानी नुनिलो हुन्छ।

(घ) वायु पारिस्थितिक प्रणालीको सिर्जना कसरी हुन्छ?
→ वायु वातावरणमा चराचुरूङ्गी तथा किटपतङ्गको वातावरण पर्छ र यिनै वातावरणमा वायु पारिस्थितिक प्रणालीको सिर्जना हुन्छ।

२. पारिस्थितिक प्रणालीको सन्तुलनका लागि के के कुरामा ध्यान पुर्याउनुपर्छ, सुनाइ पाठ ८ का आधारमा भन्नुहोस्।

→ पारिस्थितिक प्रणालीको सन्तुलनका लागि हामीले जल, स्थल र वायु गरी तीनवटै क्षेत्रको स्वच्छतामा ख्याल पुर्याउनुपर्छ।

भाषिक संरचना र वर्णविन्यास

१. दिइएका वाक्य पढी उद्देश्य, विधेय तथा तिनको विस्तार पहिचान गर्नुहोस्।

(क) 
(अ) उद्देश्य हिँड्यो।
→ उद्देश्यः उद्देश्य,
    विधेयः हिँड्यो

(आ) कर्ता भनिने वाक्यको उद्देश्य क्रिया भनिने विधेय खोज्न हिँड्यो।
→ उद्देश्यः उद्देश्य,
    विधेयः हिँड्यो,
    उद्देश्य विस्तारः कर्ता भनिने वाक्यको,
    विधेय विस्तारः क्रिया भनिने विधेय खोज्न

(इ) आफ्ना बायाँपट्टिका सबै पदलाई उद्देश्य विस्तार मान्ने वाक्यको कर्ता भनिने उद्देश्य चाहिँ आफ्ना बायाँपट्टिका सबै पदलाई विधेय विस्तार ठान्ने वाक्यको क्रिया भनिने विधेय खोज्न हिँड्यो ।
→ उद्देश्यः उद्देश्य,
    विधेयः हिँड्यो
  विधेय विस्तारः आफ्ना बायाँपट्टिका सबै पदलाई विधेय विस्तार ठान्ने वाक्यको क्रिया भनिने विधेय खोज्न

(ख) माथिका तीनओटै वाक्यमा रेखाङ्कित उद्देश्य र विधेय उही छ । पहिलो वाक्य उद्देश्य र विधेय मात्र भएको वाक्य हो । दोस्रो वाक्यमा उद्देश्यभन्दा अगाडि तीनओटा पद भएको एउटा पदसमूह छ त्यो उद्देश्यको विस्तार हो भने विधेयभन्दा अगाडि चारओटा पद भएको पदसमूह छ । त्यो विधेयको विस्तार हो ।

तेस्रो वाक्यको उद्देश्य, विधेय, उद्देश्य विस्तार र विधेय विस्तार पद कुन कुन हुन्? कक्षामा शिक्षकलाई बताउनुहोस्।

२. दिइएका वाक्यबाट उद्देश्य र विधेय छुट्याउनुहोस् :

(क) ४५ वर्षका कृष्ण राय गाउँका सबभन्दा भद्र मानिस थिए।
(ख) माथ्ला घरकी साहिँली दिदी असाध्यै छिटो छिटो हिँडिन्।
(ग) विचार गर्दागर्दै कृष्ण रायले रेलको डब्बामा भएको झगडा सम्झे।
उद्देश्य विधेय
कृष्ण राय थिए
दिदी हिँडिन्
कृष्ण राय सम्झे

३. दिइएका अनुच्छेद पढी सरल र जटिल वाक्य पहिचान गर्नुहोस् :

(क) ऋषिले वेद लेखे। त्यो वेदमा ज्ञान छ। ऋषि हिमाली पाखामा बसे। उनले त्यहीं वेद लेखे। व्यासले पुराणका गाथा गाए। व्यासले पुराण नेपाली भाकामा गाए। हाम्रो हिमाल राम्रो छ। हाम्रो पहाड राम्रो छ। हाम्रो तराई राम्रो छ।

(ख) ऋषिले जुन वेद लेखे त्यो वेदमा ज्ञान छ। ऋषि जुन हिमाली पाखामा बसे त्यहीं बसेर वेद लेखे। व्यासले जुन पुराणका गाथा गाएका छन् ती सबै नेपाली भाकामा गाएका छन्। हाम्रो हिमाल राम्रो छ भने हाम्रो पहाड र तराई राम्रो छ ।

(ग) ऋषिले वेद लेखे र त्यो वेदमा ज्ञान छ । ऋषि हिमाली पाखामा बसे अनि उनले त्यहीं वेद लेखे । व्यासले पुराणका गाथा गाएका छन् र ती सबै नेपाली भाकामा छन् । हाम्रो हिमाल राम्रो छ अनि हाम्रो पहाड र तराई राम्रो छ ।

माथिको 'क' को अनुच्छेदका वाक्य सरल वाक्य हुन् भने 'ख' र 'ग' का अनुच्छेदका वाक्य जटिल वाक्य हुन्। जटिल वाक्य अन्तर्गतका 'ख' का मिश्र वाक्य हुन् भने 'ग' का संयुक्त वाक्य हुन्।

४. जुन - ती, जति त्यति, भने, भन्ने जस्ता सापेक्ष संयोजक जोडेर पाँचओटा मिश्र वाक्य बनाउनुहोस्।

- जुन किताब मन पर्छ ती लैजाऊ।

- जतित्यति खाऊ।

- जति पढ्यो त्यति ज्ञान प्राप्त हुन्छ।

- तिमी गीत लेख्छौ भने म सङ्गीत भर्छु।

- तिमी डाक्टर बन्छौ भन्ने मलाई पहिले नै थाहा थियो।

५. र, अनि, वा, अथवा, तर जस्ता निरपेक्ष संयोजक जोडेर पाँचओटा संयुक्त वाक्य बनाउनुहोस्।

- प्रकृति बजार गई किताब किनी।

- प्रकृति बजार गई अनि किताब किनी।

- सफलता चाहन्छौ भने मेहनत गर वा असफलताको सामना गर।

- तिमी आऊ अथवा भाइलाई पठाऊ।

- मैले सजनालाई बोलाएँ तर उनी आइनन्।

६. दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :

(क) जब गड्गडाएर पानी पर्यो तब बाढी आयो। (सरल वाक्य)
→ गड्गडाएर पानी परेपछि बाढी आयो।

(ख) कुकुर भुक्छ। कुकुरले टोक्दैन। (मिश्र वाक्य)
→ जुन कुकुर भुक्छ त्यो कुकुरले टोक्दैन।

(ग) ऊ राम्रो पढ्छ र सफल हुन्छ। (सरल वाक्य)
→ ऊ राम्रो पढ्नाले सफल हुन्छ।

(घ) घाम लाग्यो। न्यानो भयो। (संयुक्त वाक्य)
→ घाम लाग्यो अनि न्यानो भयो।

(ङ) म धेरै हिँडे। मेरा खुट्टा दुखे। (मिश्र वाक्य)
→ जब म धेरै हिँडे तब मेरा खुट्टा दुखे।

(च) श्रमिकले श्रम गर्छन्। श्रमिकले जीविकोपार्जन गर्छन्। (संयुक्त वाक्य)
→ श्रमिकले श्रम गर्छन् अनि जीविकोपार्जन गर्छन्।

७. आफ्नो परिचय १० वटा सरल वाक्यमा दिनुहोस्।

→ मेरो नाम ......... हो। म कक्षा १० मा पढ्छु। मेरो बाबा कृषक हुनुहुन्छ। मेरो बाबाले गाईवस्तु पनि पाल्नुभएको छ। मेरी आमा गृहणी हुनुहुन्छ। मेरी आमाले घरका सबै काम गर्नुहुन्छ। म मेहेनतका साथ पढ्छु। मलाई गुरुहरूले पनि माया गर्नुहुन्छ। मेरी एकजना बहिनी पनि छिन्। उनी कक्षा ९ मा पढ्छिन्।

८. प्रश्न नं. ७ मा लेखिएको उत्तरलाई पाँचओटा संयुक्त वाक्यमा रूपान्तरण गर्नुहोस्।

→ मेरो नाम ......... हो र म कक्षा १० मा पढ्छु। मेरो बाबा कृषक हुनुहुन्छ र मेरो बाबाले गाईवस्तु पनि पाल्नुभएको छ। मेरी आमा गृहणी हुनुहुन्छ अनि मेरी आमाले घरका सबै काम गर्नुहुन्छ। म मेहेनतका साथ पढ्छु र मलाई गुरुहरूले पनि माया गर्नुहुन्छ। मेरी एकजना बहिनी पनि छिन् अनि उनी कक्षा ९ मा पढ्छिन्।

९. दिइएको अनुच्देछ पढी ‘श’, ‘ष’ र ‘स’ प्रयोग भएका शब्द रेखाङ्कन गर्नुहोस्।

शवगृहमा आफन्तको शव देखेर आएजति सबका आँखा रसाएषोडश वर्षीय विस्ट सर सङ्खुवासभा, सोलुखुम्बु, पर्सा, सिराहा घुमेर हिजो मात्र सुर्खेत पुगेका र आजै नेपाल वायुसेवाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका थिए। कठै! उनलाई राती हृदयघात भएछ। उनलाई श्रद्धाञ्जली दिन शम्भु सर, श्रुति मिस, विष्णु सरसन्देश सर पनि आइपुगेका थिए।

१०. ‘नेपाली हाम्रो श्रम र सिप’ कविताबाट ‘श’, ‘ष’ र ‘स’ प्रयोग भएका तीन तीनवटा शब्द लेख्नुहोस्।

→ श – विशाल, देश, शिरोमुकुट
→ ष – भाषा, ऋषि, आशिष
→ स – साहित्य, पसिना सम्पदा

११. दिइएको अनुच्छेदमा ‘श’, ‘ष’ र ‘स’ प्रयोगसम्बन्धी अशुद्धि सँच्याएर पुनर्लेखन गर्नुहोस्।

→ उषा भनेको बिहान हो र निशा भनेको साँझ हो। हाम्रो बसोबास शहरमा छ। राती भयो भने गाउँबाट शहरमा सजिलै पुग्न सकिँदैन। नत्र धेरै कष्टसहित अँध्यारामा शहर फर्कनुपर्छ।

सिर्जना र परियोजना कार्य

१. दिइएको गजल पढ्नुहोस् र एउटा मुक्तक वा गजल तयार पार्नुहोस्।

फरक छन् नजरको कुरा के गरूँ खै
म गाला अधरको कुरा के गरूँ खै।

कलेटी परेको छ सुन्दै छु लाली
नमिठो खबरको कुरा के गरूँ खै।

दिँदै दिन्न केही दिए चोट दिन्छ
निठुरी शहरको कुरा के गरूँ खै।

बदर नै सदर छ सदर नै बदर छ
सदरको बदरको कुरा के गरूँ खै।

न यता न उता स्विकार भएँ,
आश गरेकै बाट दिक्दार भएँ।

म अम्ल तिमी क्षार लवण बनाऔँ भन्थेँ,
एक्लो छु आज भिनेगार भएँ।

एक स्वाभिमान थियो घटेर गयो
त्यसका लागि आफैँ जिम्मेवार भएँ।

चाहेको होइन यस्तो होस जीवनमा
तर प्रतिदिन कसैबाट व्यापार भएँ।
- महेश बराल

२. रेडियो, टेलिभिजन वा विद्युतीय सामग्रीबाट आफूलाई मन पर्ने गीति कविता टिपोट गरेर कक्षामा सुनाउनुहोस्।

→ यो कविता कवि माधव घिमिरेद्वारा लिखत गिती कविता हो ।
  नेपाली हामी रहौँला कहाँ (नेपालै नरहे)२
उचाइ हाम्रो चुलिन्छ कहाँ (हिमालै नरहे)२
  तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
    माटो र पानी पहिलो धन धर्तीका छोराको
  ए कहाँबाट संसार हेर्छौ (सन्झ्यालै नरहे)३
   
  दसैँ र तिहार रमाइला हाम्रा चुड्का र ख्यालीले
  हिर्दय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले
  बैँसको तालमा नाचौँला कहाँ (मादलै नरहे)३
  
  ए कति राम्रो बिहानी पख घामको रेखी हो 
सभ्यता पहिलो संसारमा फैल्यो हिमाल देखि हो  
  बिम्झौँला कहाँ पुर्वको पैलो (उज्यालै नरहे)३
  नेपाली हामी रहौँला कहाँ (नेपालै नरहे)२